३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु

Posted on: 26 Mar, 2018

चैत १२, मकवानपुर | ३ नम्बर प्रदेश सभामा मंगलबारदेखि विषयगत समिति गठनको प्रक्रिया शुरु हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूचि तय गरेको हो । 

बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकमा सोमबार सहमति भएका समितिका सदस्यहरुको नाम सहमतिको लागि प्रस्तुत हुने छ भने समितिका सभापतिको निर्वाचनको मिति तोकिने प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । 

त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने कार्यसूचि छ । 

बैठकमा मन्त्रीपरिषद विस्तार तथा पुर्नगठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनियन गरेको बारे सभामुखले जानकारी गराउने कार्यसूचि रहेको छ । बैठक चैत १६ गतेसम्म संचालन हुने जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!