पत्रकारको जवाफ कामबाटै दिन्छौँ: मुख्यमन्त्री शाही

Posted on: 30 Mar, 2018

चैत १६, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताउनुभएको छ । 

बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गर्नुभएको हो । “हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने बेलासम्म पर्खनु पर्दछ भने प्रदेश सरकारको बीउ पनि भर्खरै रोपिएको छ,” उहाँले भन्नुभयो । एक वर्षसम्म पत्रकारलाई नजिकबाट सहयोग दिएर त्यसपछि मात्र आलोचना गर्न उहाँले आग्रह गर्नुभयो । 

अहिलेको अवस्थामा यो प्रदेशलाई रहन नदिने भन्दै उहाँले केही दिनमै स्वेतपत्र जारी गर्ने तयारीमा रहेको बताउनुभयो । दुईलेनको कर्णाली करिडर निर्माण, हिल्सा, नाक्चेलाग्ना, डोल्पा जिल्लाबाट उत्तरतर्फ नाका खोल्ने, विद्युतीकरण, स्वास्थ्य र शिक्षामा जोड दिइने उहाँको भनाइ थियो । त्यसको साथै सिंगो पर्यटनको विकासका लागि ‘रारा पर्यटन वर्ष—२०७५’ को शुभारम्भ राराबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने उहाँले जनाउनुभयो । 

यता आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशका पत्रकारको भूमिका निकै सकारात्मक र प्रशंसनीय रहेको प्रतिक्रिया गर्नुभयो । “सरकारको सबैभन्दा नजिकको वर्ग पत्रकार हो, यसले सरकारको सधँै खबरदारी र रचनात्मक आलोचना गर्नुपर्दछ,” योजनामन्त्री ज्वालाले भन्नुभयो । 

उहाँले भ्रष्टाचार, अनियमितता हुन नदिन सार्वजनिक खरिद ऐन बनाउन थालिएको र मिडिया जगत्लाई पनि तीन महिनाका लागि ल्याउन थालिएको बजेटमा सम्बोधन गर्ने जनाउनुभयो । सरकार पहिले संरचना पछि हुँदा घोडा पछिपछि बग्गी अघिअघि जस्तो भएको व्यंग्य गर्दै उहाँले कानूनको सूची बनेको तर कानून बन्न बाँकी रहेको तर्क गर्नुभयो । 

कर्णाली प्रदेशबाट बग्ने भेरी बबई डाइभर्सनको सबै पानी ५ नं प्रदेशले प्रयोग गर्ने भएकाले यसको बारेमा बहस अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा पत्रकारले मदिराले समाजमा जन्माएको अपराध, कोटेसन प्रणाली, टेण्डर घटिघटाउ, टुक्रे योजनाले जन्माएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने र सार्वजनिक खरिद ऐनको नाममा केन्द्रीकृत गरिएको विज्ञापन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!