‘कर्णाली कालीगढविनाको सुनको डल्लो’

Posted on: 31 Mar, 2018

चैत १७, कालीकोट (रासस) | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताउनुभएको छ । 

रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार यहाँ आइपुग्नुभएका मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु अपराध नभई पढ्नका लागि शुल्क तिर्न नसक्नु र भोकमरीले मर्नु अपराध भएको बताउनुभयो । 

कर्णालीको विकासका लागि आफूहरुले २०७५ साललाई पर्यटन वर्ष मनाउने बताउँदै उहाँले भन्नुभयो, “कर्णालीका प्राकृतिक सम्पदा, कालीकोटको पचालझरना, मुगुको रारा ताल र डोल्पाको शेफोक्सुण्डो तालको प्रवद्र्धन गर्नुपर्छ ।” 

अर्को प्रसंगमा उहाँले कर्णालीको सिंजाबाट खस भाषाको उत्पत्ति भएकाले बाहिरिएका कर्णालीका खस र आर्यलाई पुख्र्यौली जन्मथलो फर्कन अनुरोधसमेत गर्नुभयो । कालीकोटको पर्यटकीय क्षेत्रको विकासका लागि खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले ज्ञापनपत्र बुझाउँदै पचालझरनाको प्रचारका लागि काम गर्न आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!