कर्णालीको प्रदेश सभा नियमावली सर्वसम्मतिले पारित, आज १ बजे बैठक बस्दै

Posted on: 04 Apr, 2018

चैत २१, सुर्खेत | कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । 

नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी वलीले नियमावलीमा परिमार्जन गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

त्यस्तै, आर्थिक कार्यविधि विधेयकमाथिको छलफलमा भाग लिँदै धर्मराज रेग्मी, दीनबन्धु श्रेष्ठ, कुर्माराज शाही, चन्द्रबहादुर शाही, देवी वलीलगायतका सांसदहरुले भ्रष्टाचार नियन्त्रण र आर्थिक बेरुजु शून्य हुने स्वरुपमा ऐन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । 

छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वालाले समाजवादोन्मुख अर्थ व्यवस्थासँग सुहाउँदो वित्तीय पारदर्शिता र अनुशासनयुक्त आर्थिक ऐन तथा नियमावली ल्याउने बताउनुभयो । प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सञ्चित कोष स्थापना गर्ने जानकारी दिँदै उहाँले आकस्मिक कोषका लागि अलग्गै ऐन ल्याउने बताउनुभयो । 

आर्थिक विधेयकमाथिको दफावार छलफल जारी छ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!