विप्लवका गतिविधिबारे गृहमन्त्री वादलले मुख खोले

Posted on: 07 Apr, 2018

चैत २४, चितवन । गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका पछिल्ला गतिविधि अतिवादी भएको टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेकपाका गतिविधि राजनीतिक प्रकृतिको नभएकाले प्रचलित कानुन अनुसार कारबाही हुने बताए ।

‘संविधान र कानुन विपरीतको गतिविधि राजनीतिक नभई अतिवाद हो’ गृहमन्त्री थापाले भने, ‘त्यस्तो गतिविधि सरकारले नियन्त्रण गर्दछ ।’

उनले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफूले त्यो काम गरिरहेको स्पष्ट पारे ।

मन्त्री भएपछि पहिलो पटक चितवन आएका मन्त्री थापाले चितवनको विकासको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिएको र त्यसमा आफ्नो पनि हिस्सेदारी रहने जानकारी दिए ।

उनले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादित नहुने पनि दावी गरे । सरकारले वैज्ञानिक, नियमसंगत र निश्चित प्रक्रिया अनुसार आईजीपी नियुक्ति गर्ने दाबी थापाको छ ।

गृहमन्त्री थापाले एमाले र माओवादीबीच वैशाख दोस्रो साताभित्र पार्टी एकता हुने जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!