पार्टी एकतामा कुनै द्विविधा छैन: महासचिव पोखरेल

Posted on: 10 Apr, 2018

चैत २७ पोखरा | नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताउनुभएको छ । 

एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताउनुभयो । 

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उहाँले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राख्नुभयो । 

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो । 

नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उहाँले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । 

एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताउनुभयो । 

समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याउनुभयो । 

पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिनुभयो । 

सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पुर्याउन सकिने धारणा राख्नुभयो । 

एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, सचिव दामोदर बैरागीलगायतले पार्टी र निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!