युद्धका घाउमा मलहम लगाउन रोल्पाको थबाङ आर्थिक क्रान्तिमा होमिँदै

Posted on: 11 Apr, 2018

कविता उपाध्याय/चैत २८ लिबाङ, रोल्पा | सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । 

बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । 


थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि प्रणाली अपनाउन सके कृषकको जीवनस्तरमा सकारात्मक सुधार आउन सक्ने तथा युद्धका घाउमा मलहम लगाउन सकिने उनीहरुको धारणा छ । 

“विभिन्न राजनीतिक उतार चढाव आए पनि थबाङी जनताको वास्तविक जीवनस्तरमा तात्विक परिवर्तन नआएको हुँदा हामीले आर्थिक क्रान्ति शुरु गरेका छौँ,” थबाङ रोल्पाका अगुवा कृषक हितप्रसाद रोकाले भन्नुभयो । ४२ वर्षीय रोका थबाङमै आलु खेतीका क्षेत्रमा अगुवा कृषकको रुपमा चिनिनुहुन्छ । प 

परिवारको साथ र सहयोगका कारण आफूलाई कृषि क्षेत्रमा उल्लेखनीय सहयोग पुग्दै आएको उहाँले बताउनुभयो । 

परम्परागत कृषि प्रणालीबाट हालसम्म वार्षिक ५५ क्विन्टल आलु उत्पादन गर्दै आउनुभएको रोकाले त्यसबाट करीब रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आएको बताउनुभयो । 

उहाँका अनुसार समग्र थबाङी कृषकले हालसम्म परम्परागत कृषि खेती प्रणालीबाट औसतमा १५ देखि २० क्विन्टल आलु फलाउँदै आएका छन् । यसरी आलुखेती नै थबाङका अधिकांश कृषकको आयस्रोतको प्रमुख माध्यम बनेको छ । 

अबका दिनमा आधुनिक कृषि प्रणाली अपनाउन सके आलु खेतीबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गरी बेरोजगारी समास्यासमेत समाधान हुँदै जाने देखिएको छ । यही कुरालाई मध्यनजर गर्दै आलुको सम्भाव्यता अध्ययन गरेर आफू यस क्षेत्रमा सक्रिय रहेको उहाँले बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालय रोल्पा र राष्ट्रिय आलु बाली विकास खुमलटार ललितपुरबाट उन्नत आलु खेती प्रविधिसम्बन्धी तालीम र अवलोकन भ्रमणको अवसर पाएपछि आफूलाई थप ऊर्जा मिलेको रोकाले बताउनुभयो । 

“थबाङ उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँका हावापानी कारण दुई बाली लिन सक्ने अवस्था देखिँदैन । जसका कारण हामीले मिश्रित बाली अपनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो । 

रोकाका अनुसार सिमी, भटमास र आलु खेती एकै ठाउँमा गर्दा अर्गानिक कृषिमा रोग कीराको संक्रमण कम हुने, कोशेबालीले माटोको अवस्था या गुणस्तरमा सुधार ल्याउने भएको हुँदा यहाँका कृषकले मिश्रित खेती प्रणाली अपनाउँदै आएका छन् । 

थबाङ रोल्पाका स्थानीय युवा अमित घर्तीका अनुसार कृषकको एकोहोरो प्रयासले मात्र क्रान्ति सफल नहुने भएको हुँदा सबै क्षेत्रको साथ र सहयोगको खाँचो हुने बताउनुभयो । 

उहाँका अनुसार आलु ढुवानी तथा निर्यातका लागि विशेष पहल हुनुपर्ने देखिन्छ ।

 बर्सातका समयमा पनि निरन्तर मोटरबाटो सञ्चालन हुन सके आलु निर्यातमा सहज हुनेछ । यसका साथै स्थानीय स्तरमा आलुका विभिन्न परिकार बनाउनका लागि सीपमूलक तालीम सञ्चालन गर्नुपर्ने तथा स्थानीय स्तरमा लघु घरेलु उद्योग स्थापना गर्न जरुरी देखिन्छ । 

यस्तै थबाङ गाउँपालिका रोल्पाका कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले आलु ब्लक उत्पादनका लागि मिलीजुली कृषि सहकारी संस्था लिमिटेड थबाङ–१ रोल्पा छनोट भइससकेको जानकारी दिनुभयो । 

उहाँका अनुसार आलु खेती व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आलु ब्लक सञ्चालन समिति गठन भइसकेको छ । 

यस वर्ष कृषकले स्थानीय जातको आलुको बीउ रोपिसकिएकाले यस क्षेत्रमा विनियोजित रु १५ लाख भण्डारणको व्यवस्थापन र ढुवानीका लागि साधन खरिद गर्नेमा खर्च गर्ने लक्ष्य लिएको छ ।

थबाङमा उत्पादन भएको आलु बजारीकरण हुन सक्यो भने मात्र पनि ५ नं प्रदेशलाई पुग्ने अनुमान गरिएको चौधरीले बताउनुभयो । 

वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार बर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको र खेतीयोग्य जमीन बाँझो भइरहेको अवस्थामा यस कार्यक्रमले बेरोजगार युवालाई स्वदेशमै आत्मनिर्भर बन्न सहयोग पुर्याउने तथा उर्वर जमिनको सही सदुपयोग हुने आशा गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!