घरपायक स्थानमा कर्मचारीलाई खटाइने: मन्त्री पण्डित

Posted on: 18 Apr, 2018

वैशाख ५ विराटनगर | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताउनुभयो । 

मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताउनुभयो । 

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पार्नुभयो । 

उहाँले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका एक हजार २५० कर्मचारीले निवृत्तीभरण भइसकेको जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!