अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक छ: मुख्यमन्त्री

Posted on: 20 Apr, 2018

वैशाख ७ हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । 

उहाँले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्षेत्रलाई राजनीतिबाट मुक्त तुल्याउनुपर्छ भन्नुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेश नं ३ अन्तर्गतका १३ जिल्लामा सडक यातायात, कृषि, स्वास्थ्य, खानेपानी र शिक्षाको विकासका कार्यक्रम र बृहत् योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बताउनुभयो । 

सो अवसरमा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्थानीय अभिभावक एवं राजनीतिक दलका पदाधिकारीको सकारात्मक सहयोग हुनु पर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री पौडेलले जिल्ला शिक्षा कार्यालय मकवानपुरद्वारा विद्यार्थी भर्ना अभियानअन्तर्गत आज राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीय जेनिसा प्रजा र सञ्जीव ब्लोनलाई भर्ना गरी अभिभावकत्व गर्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!