‘बिप्लव’ नेतृत्वको बन्दले कर्णालीको जनजीवन प्रभावित

Posted on: 05 May, 2018

वैशाख २२, कालिकोट | नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डरका कारण कर्णाली राजमार्ग शनिबार बन्द भएको छ । यातायात व्यववसायीको आन्दोलनका कारण शुक्रबारदेखी कालिकोटमा थन्किएका सवारी साधनहरु शनिबार पनि गन्तव्यमा जान सकेनन् । जसका कारण कालिकोट जिल्लाबाट बाहिर जाने तथा बाहिर जिल्लाबाट आएका यात्रुहरु जिल्ला सदरमुकाम मान्ममै रोकिएका छन् ।

नेपालगञ्जदेखी मुगुका लागि विहीबार आएको गाडि शनिबार पनि कालीकोटमै रोकिएका छन् । गाडि चलाउँदा बन्दकर्ताले तोडफोड गर्ने डरले गाडि चलाउन नसकिएको गाडिका कर्मचारी दिपक बिकले बताए । यात्रुको सुरक्षाका लागि गाडि कालिकोटमै रोकिएको उनको भनाई छ । कालिकोट जिल्ला नेकपाको पकट भएको जिल्लाका रुपमा चिनिने गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पुर्व मन्त्री खड्गबहादुर बिश्कर्मा प्रकाण्डको गृह जिल्ला भएकाले पनि यहाँ नेकपाले बिभिन्न समयमा तडक भडक गर्दै आएको छ ।

शुक्रबार कर्णाली राजमार्गको कुनै पनि स्थानमा नेकपाका कार्यकर्ताहरु नदेखिएपनि यातायात सेवा सुचारु हुन सकेन । जिल्ला प्रहरी कार्यालय प्रमुख सुवासचन्द्र बोहोराले नेकपाको बन्दमा सञ्चालन हुने सवारी साधन तथा यात्रुहरुको सुरक्षाको लागि आफूहरुले प्रहरी टोली खटाएको भएपनि कतिपय गाडिवालाहरुले स्वैच्छिक रुपमा नचलाएको बताए । उनले जिल्लाको नरहरीनाथ गाउँपालिकाको लालिघाटदेखी पचालझरना गाउँपालिकाको जारकोडसम्म कर्णाली करिडोरमा चल्ने जीपहरु नेकपाका कार्यकर्ताहरुले रोक्न खोज्दा प्रहरीले स्कटिङ गरी चलाएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!