दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च कसले व्यहोर्ने ?

Posted on: 18 May, 2018

जेठ ४, काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

रात्रिभोज खर्च दुई पार्टीले व्यहोर्ने

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावलीसहित रात्रिभोज दिइएको छ । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन । दुई पार्टीले स्वामित्व लिनेछन् । ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न । दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!