महोत्तरीका पुराना वामपन्थी नेता रहेनन्

Posted on: 16 Jun, 2018

असार २, बर्दिवास | महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । 

जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहले ग्रसित रहँदै आउनुभएको थियो । 

विसं १९८२ मा बिजलपुरामै जन्मनुभएका लामा जिल्लामा २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य हुनुहुन्थ्यो । त्यसबेला एउटै कम्युनिष्ट पार्टी रहेका बेला जिल्लामा गठन भएको पहिलो संगठन कमिटीको सदस्य रहेकाले यहाँको हकमा लामा संस्थापक रहनुभएको जिल्लाकै बर्दिवास–१ का बासिन्दा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजु खड्काले बताउनुभयो । 

जिल्लामा नेकपाका संस्थापक रहनुभएका लामा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सञ्चालन गर्न सात वामपन्थी पार्टीले बनाएका संयुक्त वाम मोर्चाका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । 

विसं २०१९ मा कम्युनिष्ट पार्टी विभाजित भएयता विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा (संयुक्त)मा आबद्ध रहँदै आउनुभएका लामा करीब एक वर्षअघि सो पार्टी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा एकीकरण भएपछि सो पार्टी हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध हुनुहुन्थ्यो । 

लामाको निधनमा जिल्लाका सबैजसो राजनीतिक पार्टीले शोक वक्तव्य जारी गरेका छन् । स्व लामाको भोलि आइतबार बिहान ९ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने छोरा धनराज लामाले जानकारी दिनुभयो । 

स्व लामाका दुई पत्नीबाट चार छोरा र चार छोरीका साथै नातिनातिनी र पनातिपनातिनी गरी ३० भन्दा बढी रहेका छन् । लामाका दुवै पत्नीको भने यसअघि नै निधन भइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!