यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । 

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ । 

उक्त शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग भएको र दलितमाथि बजेटले भेदभाव गरेको बताउनुभयो । काँग्रेसकै रामबहादुर विष्टले यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने बताउँदै वातावरण विनाश भई शहर प्रदूषित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । काँग्रेसकी लक्ष्मी परियारले जंगल विनाश भइरहेकामा चिन्ता व्यक्त गर्दै नीतिगत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । काँग्रेसकै सञ्जयकुमार गौतमले विनियोजित बजेटले महँगी बढाएको विचार राख्नुभयो । 

नेमकिपाका प्रेम सुवालले सरकारले महिला बेचबिखन नरोकेको, बालश्रम उन्मूलनमा ध्यान नदिएको तथा छाउपडी, झुमा र देउकी प्रथाका बारेमा नबोलेको आरोप लगाउनुभयो । राजमोकी दुर्गा पौडेलले कर्मचारी प्रशासनबाट सुशासनको अनुभूति नभएको अनुभूति पोख्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!