प्रदेश नं ५ मा शीर्षकगत छलफल शुरु

Posted on: 25 Jun, 2018

असार ११, बुटवल | प्रदेश नं ५ मा प्रदेश विनियोजन विधेयक, २०७५ माथि प्रदेशसभा सदस्यले आजदेखि शीर्षकगत छलफल शुरु गरेका छन् । 

आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) को छलफलमा सहभागी हुँदै उनीहरुले विनियोजन विधेयक पूर्वाग्रही ढंगबाट आएको आरोप लगाएका छन् । 

प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मदिरा खाने स्थललाई जबर्जस्ती पर्यटन क्षेत्र बनाउन खोजेको जिकिर गर्दै बजेटले सिद्धान्तलाई आत्मसात गर्न खोजे पनि व्यावहारिकरुपमा कठिनाइ देखिएको छ भन्नुभयो । 

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले उत्पादन, उपभोग, विनिमय र वितरणका हिसाबले बजेट प्रशंसनीय भए पनि आवधिक योजनाका हिसाबले त्रुटिपूर्ण भएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले समानुपातिक, समावेशी र न्यायोचित ढंगले बजेट वितरण भएको उल्लेख गर्दै प्रदेशसभा सदस्यलाई जति स्थापित गर्न सकिन्छ त्यति नै सरकार स्थापित हुन्छ भन्नुभयो । 

प्रदेशसभा सदस्य दीपेश थारुले बजेट मन्त्री केन्द्रित भएको आरोप लगाउँदै बजेटको दृष्टिकोणले बर्दिया पछिपरेको बताउनुभयो । 

प्रदेशसभा सदस्य विष्णु पन्थीले पर्यटन क्षेत्रको विकासका लागि बजेट पर्यटन बोर्डको गठनमा जोड दिँदै परम्परागत बजेट प्रणाली परिवर्तन गर्नुपर्छ भन्नुभयो । प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बजेटले भौतिक पूर्वाधार र जनशक्तिको विकासलाई समेत आधार मानेको भए पनि ठोस कार्यक्रम नआएको धारणा व्यक्त गर्नुभयो । 

विधेयकमा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, दामा शर्मा, तीलकराम शर्मा, तारा जिसी, दीपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, कृष्ण न्यौपानेलगायतले विनियोजन विधेयकका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!