प्रदेश नम्बर ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

Posted on: 01 Jul, 2018

असार १७, अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् । आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । 

मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनयोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लेखेका थिए । 

मन्त्री बोहोराले जनयुद्धको आधार क्षेत्र रामारोशनलाई उपेक्षा गरेर आफ्नो र स्वकीय सचिवका गाउँमात्रै योजना पारेका आफूहरुले कालोझण्डा देखाएको रामारोशन गाउँपालिका वडा नम्बर ६ का पर्व माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज सुशील साउदले बताए । उनले जनतासँग चुनावको बेला गरेको प्रतिवद्धता अनुसार बजेट नआएकोले आक्रोसित जनताको नेतृत्व आफूहरुले गरेको बताए । 

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ७ का स्थानीय नेता बिर्ख भण्डारीले मन्त्री बोहोरालाई चुनावको बेला आफूहरुले जनतासँग भोट मागेको तर चुनाव जितेपछि छोटै समयमा जनतालाई भुलेर केही स्वार्थको लागि अछाममा बजेट र योजना बाँडेकोले आफूहरुले विरोध गरेको बताए । 


रामारोशन पूर्व माओवादी केन्द्रको स्थानीय नेता खडक रोकायाले मन्त्री बोहोराले अछाममा बढी बजेट पारेको भनिएपनि पर्यटकीय क्षेत्र रामारोशनलाई उपेक्षा गरेको बताए । “बोहोराजी जनताको भोटले जिते तर बजेटमा दलालहरु र विचौलियाको प्रभावमा परेर बजेट बाँडे, आफ्नो गाउँमा मात्रै १४ करोड र स्वकीय सचिवको गाउँमा ९ करोड बजेट हाले तर रामारोशन क्षेत्रलाई उपक्षा गरेका कारण विरोध गर्न बाध्य भएका हौं” रोकायाले अनलाइन डबलीसँग भने । 

मन्त्री बोहोराको विरोधमा पूर्व माओवादी केन्द्रका मात्रै नभएर पूर्व एमालेका नेता कार्यकर्ताले असमान ढंगबाट बजेट बितरण गरेको बताउँदै विरोधमा उत्रेका छन् । 

रामारोशन गाउँपालिका ४ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता मानबहादुर गिरीले मन्त्री बोहोराले निश्चित स्वार्थका कारण निश्चित ठाउँमा बजेट विनियोजन गरेकोले जनताहरु विरोध उत्रेको बताए । गिरी पूर्व एमालेका स्थानीय नेता हुन् । 

सोही गाउँपालिका वडा नम्बर ५ का स्थानीय नेता तथा पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर रकेट रोकायाले मन्त्री बोहोराले जनताको मतको अपमान गरेको बताउँछन् । पूख्र्यौली सम्पती गरी बजेट र योजना बजेट बाँडेकोले आफूहरु विरोधमा उत्रेको बताए । उनले बजेट असमान ढंगबाट आएको भन्दै सच्चाउन आफूहरुले सुझाव दिँदा पनि अटेर गरेकोले मन्त्री बोहोरालाई रामारोशन निषेध गरिएको बताए । उनले प्रचण्ड रामारोशन आएको बेला आवश्यकताको आधारमा बजेट र योजना पार्ने प्रतिवद्धता जाहेर गरेको तर मन्त्री बोहोराले उपेक्षा गरेको बताए । 

मन्त्री बोहोराले आफ्नो गाउँमा १४ करोड र स्वकीय सचिव आदर्श साउदको गाउँमा ९ करोड बजेट हालेपछि अछामस्थित पार्टीका नेता–कार्यकर्ता विरोधमा उत्रेका छन् । उनीहरुले मन्त्री र स्वकीय सचिवको गाउँमा आवश्यकता भन्दा बढी मनोमानी रुपमा बजेट पारेको दाबी गर्दै आएका छन् । 

मुजाबगर बजारबाट लखेटिएका मन्त्री बोहोरा असुरक्षा भएको भन्दै अछामबाट कैलालीतिर लागेको बताइएको छ । मन्त्री बोहोरा पुग्ने बित्तिकै स्थानीय नेता–कार्यकर्ता र जनताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि कार्यक्रम बिथोलिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!