श्रमिकको तलब वृद्धिमा क्रान्तिकारी ट्रेड युनियन महासंघको असहमति (बिज्ञप्ति सहित)

Posted on: 10 Jul, 2018

असार २६, काठमाडौँ | सरकारले श्रमिकको तलब वृद्धिको निर्णयमा क्रान्तिकारी ट्रेड युनियन महासंघले असहमति जनाउँदै बिज्ञप्ति जारी गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट महासंघले नयाँ आर्थिक बर्षदेखि लागू हुने श्रमिकहरुको तलव र महंगी भत्ता श्रमिकलाई बाच्न योग्य नभएको जनाएको छ ।

बिज्ञप्तिमा सत्ताधारीको कठपुतली ट्रेड युनियनहरुको मिलिमतोमा सरकारले गरेको निर्णय श्रमिक विरोधी र त्रुटिपूर्ण भनिएको छ । बिज्ञप्तिमा 'सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली ट्रेड युनियनको सहमतिमा प्रचलित वजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तराष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरि एकलैटी रुपमा निणर्य गर्नु भत्र्सना योग्य छ ।' उल्लेख छ । महासंघले जनताको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा श्रमिकको मासिक वेतन न्यूनतम रु ३०,०००।– निधारण गरि लागु गर्न जोडदार माग राखेको छ । 

बिज्ञप्तिमा महासंघले आफ्नो माग अनुमोदन नभए एकल तथा संयुक्त रुपमा राष्ट्रव्यपी औद्योगिक हड्ताल लगाएतका संघर्षका कार्यक्रम अगाडि बढाउने बताएको छ । 

यस्तो छ बिज्ञप्ति:  

सरकार, रोजगारदाता र ट्रेड यूनियनका प्रतिनिधि सहित सहभागी रहेको भनिएको न्युनतम वेतन निर्धारण समितिले गरेको सो निर्णय र प्रकृयाप्रति हाम्रो संगठनको गम्भिर असहमती रहेको व्यहोरा अवगत गराउन चहान्छौ । 

कम्युनिष्ट नामधारी पूँजीवादी सरकारले गठन गरेको सो वेतन बोर्डले सरकार पक्षीय दलाल काठपुतली ट्रेड युनियनहरुको प्रभावमा परि अन्य श्रमिकपक्षीय ट्रेड युनियनको प्रतिनिधित्व नगराई सरकारले गरेको निर्णय श्रमिक विरोधी र त्रुटिपूर्ण  छ । सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली ट्रेड युनियनको सहमतिमा प्रचलित वजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तराष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरि एकलैटी रुपमा निणर्य गर्नु भत्र्सना योग्य छ ।

देशमा कम्युनिष्ट नामधारी समाजवाद उन्मुख भनिएको पूँजीवादी सरकारलाई श्रमिकहरुको गाँस, बास, कपास, स्वस्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताहरु पूरा गर्न विनम्र आग्रह गर्दछौ । साथै सरकार, रोजगारदाता र अन्य सरोकारवाला निकायहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिकपक्षीय ट्रेड युनियनको सर्वपक्षीय प्रतिनिधित्व सहित सहमतिबाट नयाँ वेतन निर्धारण गर्न अपिल गर्दछौ ।

श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा श्रमिकको मासिक वेतन न्यूनतम रु ३०,०००।– निधारण गरि लागु गर्न जोडदार माग गर्दछौ । अन्यथा हामी राष्ट्रव्यपी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौ । जसबाट निस्कने परिणामको भागिदार सम्बन्धि पक्ष हुने समेत चेतावनी दिन चाहान्छौ ।

क्रन्तिकारी अभिवादन सहित

अध्यक्ष

राजन तिमल्सिना

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल 

मितिः २०७५/०३/२६

यस बिषयमा तपाइको प्रतिक्रिया...!