गृहमन्त्री बादल र उत्तर कोरियाली राजदूत भेटवार्ता

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 


गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । 

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गर्नुभयो । 

उहाँले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गर्नुभयो । 

गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुृक रहेको बताउनुभयो । 

राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्यउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताउनुभएको थियो । जवाफमा गृहमन्त्री थापाले, “सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताउनुभयो ”। 

राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!