देश बनाउने संकल्प गरौं: मन्त्री बाँस्कोटा

Posted on: 11 Aug, 2018

साउन २६, बनेपा | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ । 

आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो । 

उहाँले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार तुल्याउन स्वदेशी तथा विदेशी सहयोगी दातासँग आ–आफ्नो ठाउँबाट योगदानका लागि आग्रह गर्नुभयो । 

कार्यक्रममा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रका गाउँपालिकामा प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसँग जोडिने कुरा भएकाले हेर्दा सामान्य भए पनि ठूलो अर्थ रहने बताउनुभयो । 

कलाकार हरिवंश आचार्यले विपत् प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैँले सुरक्षित व्यवस्थापन गर्न नसक्दा पनि आउने गरेको उल्लेख गर्नुभयो । 

सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरिवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरेको थियो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कूल दुई हजार ६४० थान प्राथमिक स्वास्थ्य सामग्री वितरण गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!