नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on: 16 Aug, 2018

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ ।

प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन्। यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नामसमेत प्रदेश कार्यदलबाट सर्वसम्मत सिफारिस भइसकेको छ ।

पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ। पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ।

अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।

जिल्लामा रहेका नेतामध्ये कुनै सरकारी लाभमा नगएकामध्ये सबैभन्दा माथिल्लो तहका नेतालाई अध्यक्ष बनाउने कार्यविधिअनुसार जिल्ला अध्यक्षहरु सिफारिस गरिएको स्रोतले जनाएको छ । जसअनुसार दाङमा शिवकुमार आचार्यको नाममा सहमति भएको छ ।  उनि यसअघि एमाले प्रदेश कमिटी सदस्य थिए  ।

त्यस्तै प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालासिंह  काउत्छा र पाल्पामा राधाकृष्ण कँडेलले अध्यक्ष पाएका छन्। यी सबै पूर्वएमालेका नेता हुन्।

त्यस्तै पूर्वमाओवादीको तर्फबाट रुकुम पूर्वमा पुराना सैन्य कमाण्डर होमप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ । हिमाल उपमानबाट क्रियाशील उनि  रुकुम पूर्वको भूमे– ७ गुमान निवासी हुन  भने जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्म पुगेका नेता हून  ।

त्यस्तै रोल्पामा सुरेन्द्र थापा घर्तीले अध्यक्ष पाउने भएका छन । ध्रुव उपनामबाट क्रियाशील उनि  जनयुद्धकालमै जिल्ला सेक्रेटरी र पछिल्लो समय माओवादी केन्द्रको जिल्ला अध्यक्ष  थिए ।

त्यस्तै बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्ने निश्चित भएको छ ।

प्रदेश ५ र अन्तर्गतका जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा कति–कति रहने टुंगो लागेको छ । २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ ।

जिल्लागतरुपमा दाङमा पूर्व एमालेबाट ५५ र पूर्वमाओवादीबाट ४५ प्रतिशत, गुल्मीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, रुपन्देहीमा पूर्वएमाले ६० र पूर्वमाओवादी ४०, पाल्पामा पूर्वएमाले ६० र पूर्वमाओवादी ४० प्रतिशत, प्युठानमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, बाँकेमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, नवलपरासीमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ प्रतिशत, कपिलबस्तुमा पूर्वएमाले ५५ र पूर्वमाओवादी ४५ तथा अर्घाखाँचीमा पूर्वएमाले ५५ र माओवादी ४५ प्रतिशत हिस्सा रहने एक कार्यदल सदस्यले जानकारी दिए ।

यसैगरी रोल्पामा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत, पूर्वी रुकुममा पूर्वमाओवादी ६० र पूर्वएमाले ४० प्रतिशत हिस्सा बाँड्न सहमत भएका छन् । बर्दियामा भने दुवैको बराबरी हिस्सा रहने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!