विकासको नयाँ युगको शुरुआतः प्रधानमन्त्री ओली

Posted on: 22 Aug, 2018

भदौ ६, दमक (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । 

आज झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले भन्नुभयो, “पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ । ” 

प्रधानमन्त्री ओलीले जनताले अब केही वर्षभित्रै विकासको नयाँ अनूभुति प्राप्त गर्ने बताउँदै सरकारले अघि सारेको समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत भएको धारणा व्यक्त गर्नुभयो । 

“सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि हो”, उहाँले भन्नुभयो, “यस महान् अभियानमा सबै राजनीतिक दल र जनताको सकारात्मक सहभागिताको आवश्यकता छ ।” 

प्रधानमन्त्री ओलीले आफू राजनीतिक जोगी भएको चर्चा गर्दै “ अबको आफ्नो सबै समय देश र जनताका लागि लगानी गर्ने लक्ष्य लिएको छु भन्नुभयो ।” 


आफ्नो कार्यकालमै पूर्व पश्चिम र उत्तरदक्षिण रेल गुडाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यसले छिट्टै आकार ग्रहण गर्ने पनि बताउनुभयो । 

प्रधानमन्त्री ओलीले शान्तिपूर्णरुपमा विरोध गर्न कसैलाई नरोक्ने तर अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुनेतर्फ दलहरुको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कृषिमा आत्मनिर्भर बनाउन सरकारले थुप्रै योजना तथा कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उहाँले सहकारीको माध्यमबाट कृषिलाई आधुनिकीकरण गरेर देशको विकास गर्न सकिन्छ भन्नुभयो । 

समारोहमा समृद्ध नेपालको परिकल्पनालाई सार्थक पुर्याउन सफलता मिलोस् भनी प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नगरवासीका तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो । 

गौरादह निवासी तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई समेत समारोहमा अभिनन्दन गरिएको थियो । 

समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु, प्रदेशसभा सदस्यलगायत सहभागिता थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!