पूर्व माओवादी लडाकु शिविरमा नर्सरी स्थापना गरिने

Posted on: 26 Aug, 2018

भदौ १०, सुर्खेत | पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा रहेको पूर्व माओवादी लडाकु शिविरमा हाइटेक नर्सरी बनाइने भएको छ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा प्रदेश सरकारले हाइटेक नर्सरी स्थापना गर्न लागेको हो ।

तत्कालिन माओवादीको छैठौं मुख्य शिविर हाल कृषि अनुसन्धान केन्द्र छ । नर्सरी स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद बिन्दमान विष्ट लगायतको समूहले स्थलगत अवलोकन गरेका छन् । कृषि मन्त्रालयले जग्गा, वातावरण लगायत आवश्यक कुराहरुको सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट कृषि विज्ञको टोली समेत बोलाएको थियो ।

कृषि विज्ञ साधुरामसिंह बस्नेतले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि दशरथपुर उपयुक्त हुने बताए । उनले भने, ‘नर्सरीको निम्ति यो ठाउँ ८० प्रतिशत उपयुक्त छ ।’ तत्कालीन समयमा मुख्यमन्त्री शाहीनै छैठौं डिभिजनका कमाण्डर रहेका थिए । हाइटेक नर्सरीले किसानलाई चाहिएको समयमा आवश्यक बेर्ना नै उपलब्ध गराउँछ । बेर्नाबाट कृषि व्यवसाय गर्दा बिउको माध्यमबाट लाग्ने रोगमा ४० प्रतिशतले कमी आउँछ । यो परम्परागत रुपमा खेती गर्ने किसानको लागि पनि खुशीको कुरा हो ।


कृषि अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत कृष्ण ढकालले जानकारी दिए अनुसार प्लाष्टिकको घरभित्र आवश्यक तापक्रममा बेर्ना उत्पादन गरिने भएकोले जुनसुकै समयमा बेमौसमी बेर्ना उत्पादन गर्न सकिन्छ । उनका अनुसार पूर्वी सुर्खेतको हावापानी तथा माटोमा प्राकृतिक रुपमा र किसानले लगाइरहेका हरेक बाली तथा फलफूलका बेर्ना नर्सरीमा उत्पादन गर्न सकिन्छ । कर्णाली प्रदेश सरकारले हाइटेक नर्सरीको माध्यमबाट सस्तो दरमा किसानलाई विभिन्न जातका स्वस्थ बिरुवा उपलब्ध गराई उत्पादनमा बृद्धि गर्ने उदेश्यले यस्तो नर्सरी स्थापना गर्न लागेको मन्त्री विमला केसीले बताइन् ।

कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गर्ने भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना छ । मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा एक एक वटा हाइटेक नर्सरी स्थापना गरिने योजना छ । यस प्रकारको उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि मन्त्रालयले २४ करोड रुपैया विनियोजन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!