विप्लवको अखडामा प्रहरीको गस्ती

Posted on: 09 Sep, 2018

भदौ २४, कालिकोट | कालिकोटस्थित माल्कोटको जंगल भित्रको खुला चौर नेकपाको केन्द्रीयस्तरका ठुला कार्यक्रम हुने मुख्य ठाउँ हो । त्यस ठाउँलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो राजधानी पनि भन्ने गरेको छ । त्यही ठाउँमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्मासहितको टोलीले आइतवार मार्चपास गरेको छ ।

यसभन्दा अघि निर्वाचनको समयमा समेत त्यहाँ प्रहरीको कुनै पनि टोली जान सकेका थिएनन् । पहिलो पटक डीएसपी बिनोद शर्माको टोलीले त्यही चौरमा  मार्चपास गरी सदरमुकाम फर्किएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले आफूहरुले नहरिनाथ गाउँपालिकास्थित कुमालगाउँ इलाका प्रहरी कार्यालयकाो निरीक्षणका साथै प्रकाण्डको घरैमा पुगेर बहिनी र बुवालाई भेटेको बताए । उनले त्यस क्रममा सुरक्षा चुनौतीबारे पनि अध्ययन गरी फर्किएको बताए । ‘प्रकाण्डको गाँउ पुगेर वडाअध्यक्ष तुलराज बिकको घरमा बास बसियो । विप्लवको केन्द्रका रुपमा परिचित उक्त ठाउँमा मार्चपास पनि गरियो’, शर्माले भने ।

१२ जना प्रहरीसहित माल्कोट गएका डीएसपी शर्माले त्यहाँका ९९ प्रतिशत जनता विप्लवको पार्टीमा आवद्ध रहेको भेटिएको बताए । ‘गाउँ नै विप्लवमय रहेछ । नेकपाको केन्द्रीय महाधिवेशन नै माल्कोटमा भएको बुझियो’, उनले भने, ‘नेकपाले जंगलभित्रको त्यो चौरमा सानो घर र स्टेज पनि बनाएका रहेछन् । त्यहीँ ठुला ठुला कार्यक्रम हुने रहेछन् ।’ शर्माले अर्का्तिर ठूलै सहिद स्मृति भवन निर्माणको सुरुवात गरेको पाइएको पनि बताए । ‘अहिले त्यो भवनको जग हालेका छन् । एक दिन माल्कोटमा बसेर लालु हुँदै सदरमुकाम आएका छौँ’, शर्माले भने ।


नेकपाले पार्टी प्रवक्ता पक्राउविरुद्ध केन्द्रदेखि गाउँसम्म कार्यक्रम गरिरहेको छ । गाउँलेहरुलाई रातो झण्डा र रातै पोशाकमा उतारेर विप्लवले विरोध गरिरहहेको हो । नेकपा कालिकोटले केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाव्यापी संगठन सदृढ तथा बिस्तार अभियान चलाएको छ । नेकपाका जिल्ला सेक्रेटरी मनीला ऐडी ‘रणदीप’ले पार्टीको संगठन विस्तार अभियान तीब्र गतिमा भइरहेको बताए । उनले भने, ‘गाँउ गाँउमा संगठन निर्माणको काम भइरहेको छ ।’ गाँउमा विप्लवको संगठन बढ्नुका साथै ‘द्वन्द्वकालमा देखिएको रातो पोशाक’ लगाएका मान्छे भेला हुँदा स्थानीय नागरिक त्रसित भएका छन् । फेरि पनि हिंसात्मक आन्दोलनको चपेटामा पर्ने डरले गाउँमा त्रासको वातावरण सिर्जना भएको छ । जिल्लाका कतिपय स्थानिय तहका प्रमुखहरुले समेत नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउको सामाजिक विरोध गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!