विप्लव नेतृत्वको नेकपावाट प्रभात चलाउने सहित पाँच जना निस्कासित, यस्तो छ आरोप

Posted on: 14 Sep, 2018

भदौ २९, काठमाडौँ | विप्लव नेतृत्वको नेकपावाट प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढासहित पाँच जना निस्कासित भएका छन् । निस्कासित गरिएकाहरुलाई अराजकता र  सूचना चुहाएको आरोप लगाइएको छ । 

निस्कासित भएकाहरुमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका चार केन्द्रीय सदस्य छन् भने निवर्तमान अध्यक्ष प्रभात चलाउने समेत कारवाहीमा परेका छन । क्रान्तिकारी पत्रकार संगठन नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन हो । नेपाल कम्युनिस्ट पार्टीको मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर कारवाहीबारे जानकारी दिएका छन् । 

संगठनभित्रै रहेका जिम्मेवार व्यक्तिहरुबाटै संगठन नेतृत्वबारे अनर्गल प्रचार, ‘समानान्तर संगठन’ निर्माण तथा पार्टीले पत्रकार संगठन नेतृत्वबारे लिएको निर्णय उल्लंघन गर्दै संगठनका जिम्मेवार व्यक्तिहरुमाथि नै हातपात गर्नुक साथै संगठनबारे गलत र भ्रामक हल्ला चलाइरहेको परिस्थितिमाभ्m कारवाहीको विज्ञप्ति आएको हो । कमाण्ड ईन्चार्जद्वारा जारी उक्त विज्ञप्तिमा आम जनसमुदाय र संचारमाध्यमलाई सम्बोधन गर्दै पार्टी र संगठनको यथार्थ अवस्थाबारे प्रष्ट पारिएको छ । 

विज्ञप्तिमा संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको जनाएका छन् ।

कारवाही गर्नुको अर्को गम्भीर कारण पनि उल्लेख गरिएको छ । पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर गल्ती गरेको जनाइएको छ । साथै आइन्दा पार्टीले कारवाही गरेका व्यक्तिहरुले चलाउने अनर्गल र भ्रामक समाचारको भ्रममा नपर्न समेत जनसमूदाय र आमसंचारमाध्यमलाई जानकारी गराइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!