राष्ट्रियसभाद्वारा सात विधेयक स्वीकृत

Posted on: 15 Sep, 2018

भदौ ३०, काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राख्नुभएको थियो । 

‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभयो । उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गर्नुभएको थियो । 

‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गर्नुभएको थियो । आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गर्नुभयो । 

भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, शहकारी तथा गरिबीमन्त्री पद्याकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक ३१ गते आइतबार ११ बजे बस्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!