कालिकोटका ९ स्थानीय तहमा पाँचजना मात्र सचिव !

Posted on: 16 Sep, 2018

भदौ ३१, कालिकोट | जिल्लाका नौ वटा स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ । स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नभएको कारण सेवा प्रभावित हुन पुगेको छ ।दरबन्दी अनुसार स्थानीय तहमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको र स्थानीय तहमा तत्काल कर्मचारीको आवश्यकता रहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

स्थानीय तहका शिक्षा शाखा, कृषि विकास शाखा, पशु विकास शाखा, स्वास्थ्य तथा सरसफाई विकास शाखालगायतका शाखामा दरबरन्दी अनुसार कर्मचारी छैनन् । स्थानीय तहले शाखामार्फत सेवा सुबिधा दिनु पर्ने भएपनि कर्मचारी नहुँदा समस्या भएको छ ।स्थानीय तहमा स्थापना गरिएको शाखाहरुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काममा समस्या भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिमा गरी ८२ वटा वडा कार्यालय रहेको छ । ८२ वडा कार्यालय मध्ये ७७ वडामा सचिव छैनन् ।रास्कोट नगरपालिकामा १, नरहरीनाथ गाउँपालिकामा १, पचालझरना गाउँपालिकामा १, महावै गाउँपालिका १ र पलाँता गाउँपालिकामा १ गरी पाँच जना मात्र वडा सचिव रहेका छन् ।

जिल्लाका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तिलागुफा नरपालिका र शुभकालिका गाउँपालिकामा सचिव पदको दरबन्दीनै छैन् ।खाँडाचक्र नगरपालिकामा ११ वटा वडा कार्यालय रहेको छ । ११ वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिकाभित्र एक जना पनि वडा सचिव छैनन् ।’ उनले भने,‘वडा सचिव नहुँदा दैनिक घटना दर्तामा पञ्जिकाधिकारीको समस्या हुने गरेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!