प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित, पहिलो गासमै ढुङ्गा

Posted on: 09 Oct, 2018

असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो । यस अघि विभिन्न माग राख्दै प्रतिपक्षी काँग्रेसले दुई पटक संसद अवरुद्ध गरेको थियो । मंगलबार बसेको प्रदेश सभा बैठकको सुरुमै सभामुखसंग समय लिएर बोलेका काँग्रेस सांसद दिनबन्धु श्रेष्ठले सरकार जनताप्रति जिम्मेवार नभएको र संसदलाई दुई महिनासम्म ‘बिजनेस’ नदिएर बन्धक बनाएको भन्दै मुख्यमन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै प्रतिपक्षी सांसद सदनमा उभिए पछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । प्रतिपक्षी काँग्रेससंगको छलफल सकारात्मक नभए पछि मंगलबार बस्ने भनिएको संसदको ३९ औं बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । दुई महिना पछि बसेको प्रदेश सभा बैठक सुरु नहुँदै स्थगित गरिएको थियो । प्रदेश सभा बैठक बुधबार बिहान मुख्यमन्त्रीसहितका सरकारका मन्त्रीसंग छलफल गरि निश्कर्षमा पुगिने काँग्रेस सांसद दिनबन्धु श्रेष्ठले बताए ।

कर्णालीको समृद्धि र बिकासका लागि प्रतिपक्ष नभएर सरकारसंगै मिलेर जान चाहेकेको भए पनि सरकारले त्यसलाई प्रतिपक्षको कमजोरी ठानेको श्रेष्ठको आरोप छ । ‘हामीले सुरुमै कर्णालीको बिकासका लागि गरिने सरकार हरेक क्रियाकलापहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छौ’ श्रेष्ठले भने, ‘प्रतिपक्षको सहयोगकै कारण सबै भन्दा पहिला प्रदेशको नामाकरण र राजधानी तोकिएको हो । तर, सरकार स्वच्छाचारी बन्न थालेपछि त्यसलाई नियन्त्रण गर्नु प्रतिपक्षको धर्म हो ।’ बजेट पारित भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकारले रातो किताब नल्याएको प्रतिपक्षी काँग्रेसको आरोप छ ।


कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले रातो किताब संसदमा उपलब्ध गराई सकेको दावी गरेका छन् । बजेट पारित भए लगत्तै सरकारले रातो किताब बाँडि सकेको उनले बताए ।  ‘बिषयगत मन्त्रालयको बजेट पनि योजनाअनुसार ब्रेक डाउन गरी सबै मन्त्रालयको वेभसाइडमा राखिएको छ’ मन्त्री ज्वालाले भने, ‘भौतिक बिकास मन्त्रालयबाहेक सबै मन्त्रालयले योजनासहितको बजेट ब्रेक डाउड अनलाईनमै राखिएको छ ।’

पहिलो गासमै ढुङ्गा

दुई महिनादेखि स्थगित कर्णाली प्रदेश सभा बैठक मंगलबार नयाँ भवनमा सुरु गरिएको थियो । पहिलो पटक कर्णाली प्रदेश सभाले आफ्नै भवनमा संसद बैठक बस्न थालेपछि साँसदहरु पनि निकै उत्साहित देखिन्थे । नयाँ  संसद भवनको उद्घाटन गर्ने भन्दै मिठाइ खाएर हलभित्र प्रवेश गरेका साँसदहरुको झण्डै २० मिनेट हलभित्रको बसाइँ मौनधारण गरे जस्तै बन्यो । सभामुखले बैठकको कार्यसूचीबारे जानकारी गराउन लाग्दा समय मागेका प्रतिपक्ष सांसदको ५ मिनेटको भाषण पछि हलमा सन्नाटा छायो । सभामुखले प्रतिपक्षी सांसदलाई पटक पटक आसन ग्रहण गरी बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि प्रतिपक्षहरु नबसे पछि १० मिनेटका लागि स्थगित गरिएको बैठक फेरी बस्न सकेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!