अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ: गृहमन्त्री थापा

Posted on: 14 Oct, 2018

असोज २८, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । 

“देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भन्नुभयो, “अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ ।” प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उहाँले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गर्नुभयो । 

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा उहाँको छ । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीको छ । उहाँले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । 

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताउनुभयो । “यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ”, राईले भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिनुभयो । अर्का सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रुपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताउनुभयो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रका रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा आएको छ भन्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने बताउनुभयो । उहाँहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी दिनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!