नेकपा अछामको स्थानीय तहहरुमा पार्टी समायोजनको कार्य टुंगियो

Posted on: 05 Nov, 2018

कमल रावल | कात्तिक १९, अछाम | नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अछामको स्थानीय तहहरुमा पार्टी समायोजनको कार्य टुंगिएको छ । आईतबार अबेर सम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले ४ नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका ग्रहण गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

पार्टी समायोजन अन्र्तगत अछाममा ३ नगरपालिका र ३ गाउँपालिकामा साविक नेकपा एमालेले नेतृत्व पाएको छ भने एक नगरपालिका र ३ गाउँपालिका सहित ४ स्थानीय तहमा साविक नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको छ । मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिकामा तत्कालिन नेकपा एमालले अध्यक्ष लिने निर्णय भएको छ । यस्तै पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भई त्यसै अनुसार नेतृत्व चयन गरिएको कार्यदल सदस्य तथा राष्टिय सभा सदस्य शेर बहादुर कुवरले जानकारी दिनु भयो । 


साविक २ वटै पार्टीको जुन जुन स्थानीय तह र वडामा बर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरि नीतिगत निर्णय गरिएको उहाँले बताँउनु भयो । सबै स्थानीय तहमा नेतृत्व टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिस किएको तर प्रदेशले कुनै नाम हेरफेर समेत गर्नसक्ने भएकाले तत्काल सार्वजनिक नगरिएको कुवरको भनाई छ । साविक पार्टीलाई प्रतिशतका हिसावले नेतृत्व बाँडफाँड नगरि बर्चस्वका आधारमा नेतृत्व सिफारिस गरिएको जिल्ला कार्यदल सदस्य झपट साउदको भनाई छ । 

सबै स्थानीय तहमा तत्कालिन २ वटै पार्टीबाट सर्व सहमतिका साथ कमिटी सिफारिस गरिएको साउदले जानकारी  दिनु भयो । प्रदेश कमिटीमा सिफारिस स्थानीय पार्टी कमिटीको बिवरण प्रदेशले ग्रहण गरेर पारित गरिसकेपछि जिल्लाले औपचारीक  घोषणा गर्ने नेकपा अछामले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!