बैतडीमा नेकपाको समायोजनको काम टुङ्गियो

Posted on: 14 Nov, 2018

कात्तिक २८, बैतडी | बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ । 

पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका सदस्य तथा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 

पाटन नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, डिलाशैनी, शिवनाथ, सिगास गाउँपालिकामा तत्कालीन एमालेको नेतृत्व रहने छ । दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा तत्कालीन माओवादीले नेतृत्व लिने भएको छ । 

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालीन पार्टीभन्दा अर्को पार्टीको व्यक्ति रहने पनि निर्णय भएको छ । ८१ सदस्यीय नगर कमिटी रहनेमा अध्यक्षको तत्कालीन पार्टीबाट ४२ र सचिवको तत्कालीन पार्टीबाट ३९ रहने छन् । 

यस्तै ७५ सदस्यीय हुने गाउँपालिकास्तरीय कमिटीमा पनि अध्यक्षको तत्कालीन पार्टीबाट ३९ तथा सचिवको तत्कालीन पार्टीबाट ३६ सदस्य रहने छन् । 

सात जना रहने नगरपालिकाको कार्यालय कमिटीमा तत्कालीन एमालेबाट चार तथा माओवादीबाट तीन रहने छन् भने पाँच जना रहने गाउँपालिकामा कार्यालय कमिटीमा तीन एमाले तथा दुई माओवादी केन्द्रका रहने छन् । 

यस्तै तीन जना रहने वडास्तरीय कार्यालय कमिटीमा पनि २–१ को भाग लगाइएको छ । पालिकास्तरीय उक्त समितिको दुई÷तीन दिनभित्रै टुङ्गो लाग्ने बताइएको छ । टुङ्गो लागेका विवरण प्रदेश कमिटीलाई सिफारिश गरिएको जनाएको छ । 

जिल्लाको नेतृत्वको टुङ्गो केन्द्रले लगाउने भएकाले एक हप्ताभित्रै लाग्ने जनाएको छ । बैतडीमा १३५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भए पनि तल्लो स्तरसम्म एकता प्रक्रिया सो दलले टुङ्ग्याउन सकेको छैन । पाँच महीना पूरा हुँदासमेत पार्टीको एकता प्रक्रिया नटुङ्गिँदा पार्टी कार्यकर्ता र नेताबीच टीकाटिप्पणी हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!