नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय

Posted on: 19 Nov, 2018

मङ्सिर ३, लमजुङ | नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो । 

नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताउनुभयो । 

पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । यही मङ्सिर १५ गतेभित्र जिल्लाका नगर तथा गाउँपालिकाभित्र रहेका नेकपाका संयन्त्र निर्माण गरी प्रदेशमा विवरण समयमा नै पठाउन उहाँले जिल्ला कमिटीलाई निर्देशन दिनुभयो । 

गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!