विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर: प्रधानमन्त्री

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । 

विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं २०७२ को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका साथै पुनःनिर्माणका लागि काम अहिले पनि जारी रहेको बताउनुभयो । 

उहाँले अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनःनिर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपाल सरकार विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा प्रतिबद्ध रहेको छ । प्राकृतिक विपद्बाट बच्न मानवीय तयारी र भौतिक साधनको सङ्कटबाट कसरी बच्ने र र भावी जीवनलाई कसरी अनुकूल बनाउने भन्नेबारेमा हरेक विपद्ले पाठ दिइरहेको हुन्छ । 

प्राकृतिक विपद्को कुनै सीमा र पूर्वानुमान नहुने भएकाले पूर्व तयारी, सूचना, विज्ञान र प्रविधिमा आधारित निर्णय गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपालको भूगोलका आधारमा विपद्का विविधतालाई ध्यान दिएर सरकारले पूर्व तयारीका क्रममा आपतकालीन व्यवस्थापन र राहतको व्यवस्थापन गरेको जानकारी दिनुभयो । 

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विभिन्न विपद्का कारण दैनिक सरदर तीन जनाको अकालमा ज्यान जाने गरेको बताउँदै विपद्का कारण मानवीय, भौतिक र वातावरणीय क्षति भई गरीबी बढ्ने कारण पनि हुने गरेको जनाउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!