प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने

Posted on: 03 Dec, 2018

मङ्सिर १७, हेटौँडा (रासस) | प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । 

उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैपर्यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।” 

यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्गे्रस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडासहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ । प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!