पूर्वलडाकुले गृहमन्त्रीकै अगाडी विष सेवनको प्रयास गरेपछि...

Posted on: 07 Dec, 2018

मंसिर २१, काठमाडौं । एक पूर्वलडाकुले गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ ।

यसअघि मंसिर ५ मा मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । 

मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल प्रहरी अस्पतालमा उपचारपछि उनको डिस्चार्ज भइसकेको छ ।

घटनापछि त्यहाँ रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

अहिले सिंहदरबार छिर्नुअघि पास देखाएर गृहको गेटमा पुगेका व्यक्तिलाई त्यहाँ पुनः परिचय पत्र देखाउन लगाइन्छ । त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिन्छ ।

अन्तिममा फेरि बर्दीधारी सुरक्षाकर्मीले सर्वसाधारणको खनतलासी पनि लिने गरेका छन् । जसका कारण मन्त्रालय जाने सर्वसाधारणले सास्ती भोग्नु परेको छ । त्यति मात्र होइन, समाचार संकलनका लागि मन्त्रालय जाने सञ्चारकर्मीहरुलाई पनि मन्त्रालय प्रवेश सहज छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!