सांसद योगेश भट्टराईले घरभाडा रकम नलिने, १० महिनाको ९० हजार फिर्ता गर्ने

Posted on: 16 Dec, 2018

पुस १, काठमाडौँ । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा वापतको भत्ता नलिने घोषणा गरेका छन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिना भाडावापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा गरेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका उनले वक्तव्य जारी गर्दै आफूले सांसद सदस्यहरुको विवरण फारम भराउँदा काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रूपमा उल्लेख गर्दागर्दै पनि घरभाडा वापत रकम बुझ्नेको सूचीमा आफ्नो नाम परेको भन्दै आश्चर्यमा परेको बताएका छन् ।

“संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।

संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु । घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु,” उनले विज्ञप्तिमा भनेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!