प्रदेश ३ को प्रदेशसभा बैठक पुस ११ मा

Posted on: 24 Dec, 2018

पुष ९, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसभाको बैठक यही पुस ११ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

उक्त बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो । सोही बैठकमा विभिन्न चार विधेयकमध्ये प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण, सु–व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सरकारको सञ्चालन एवम व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सु–व्यवस्था गर्न बनेको विधेयकलाई थप संशोधन गर्न बनेको विधेयक २०७५ लाई पूर्ण छलफलका लागि प्रस्तुत गरिने सचिवालयका कानून उपसचिव विनोद अमात्यले राससलाई बताउनुभयो । 

सचिवालयमा आजै अपराह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक र उक्त विधेयकमाथि छलफलका लागि प्रदेशसभा सदस्यले बोल्ने समय निर्धारण गरिएको र विभिन्न समितिमा दफावार छलफलका लागि विधेयक पठाइने भएको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो । यसअघि प्रदेश सभाको बैठक गत मङ्सिर ११ गते बसी पाँच वटा विधेयक पारित गरेर स्थगन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!