प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on: 01 Jan, 2019

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । 

राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भवना बुझेर तय गर्नुपर्ने बताउनुभयो । 

प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि उठेर सहमति जुटाउनुपर्ने बताउनुभयो । “बाँके, बर्दियाजस्ता जिल्लासमेत समेट्ने गरी स्थानको टुङ्गो लगाउनुपर्छ” उहाँले भन्नुभयो, “कुन सांसदको घर कहाँ छ भन्ने आधारमा राजधानी तोक्ने विषय होइन ।” 

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रदेश राजधानी रुपन्देही र नामाकरण लुम्बिनी गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । राजधानी तोक्ने विषयमा अनावश्यक ढिलाइ भएको भन्दै उहाँले रुपन्देही राजधानी तोक्ने विषयमा सबैको सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । दुई तिहाइ बहुमतबाट भए पनि राजधानीको विषय टुङ्ग्याउनुपर्ने भन्दै नेता पोखरेलले यसमा जिम्मेवार दलका नेता लाग्नुपर्ने बताउनुभयो । 

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको स्थायी राजधानी रुपन्देहीभन्दा अन्य विकल्प नभएको बताउनुभयो । राजधानी तोक्न ढिलाइ हुँदा अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको भन्दै उहाँले रुपन्देही राजधानी र प्रदेशको नामाकरण लुम्बिनी उपयुक्त हुने पार्टीको धारण रहेको बताउनुभयो । गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट नेपाल विश्वसामु चिनिएकाले लुम्बिनी प्रदेश नै उपयुक्त हुन्छ उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका हिसाबले स्थायी राजधानी रुपन्देहीको विकल्प छैन ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!