सरकारले जनअपेक्षा अनुसार काम नगरेको गगन थापाको आरोप

Posted on: 08 Jan, 2019

पुस २४, बनेपा | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” 

नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताउनुभयो । “न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ”, उहाँले भन्नुभयो । 

नेता थापाले नियम अनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताउनुभयो । प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गर्नुभयो । नेपाली काङ्ग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!