नेविसंघका महामन्त्रीसहित ७ पदाधिकारीले दिए पदबाट राजीनामा

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं । नेविसंघका महामन्त्रीसहित सात जना पदाधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

पदाधिकारीहरुले शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

७ पदाधिकारीले राजीनामा दिएपछि  नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!