आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

Posted on: 17 Jan, 2019

माघ ३, नारायणपुर | नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ । 

घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२-१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भन्नुभयो, “विकास बजेट कसरी खर्च हुन्छ ? आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुप¥यो ।” 

उहाँले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेकोसमेत आरोप लगाउनुभयो । काङ्ग्रेसको नेतृत्वमा शुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामकरण गरेको उहाँको आरोप थियो । 

नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताउनुभयो । “सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवद्र्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ”, नेता महतले भन्नुभयो, “सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नैपर्छ ।” 

उहाँले काङ्ग्रेसभित्र ठूलो समस्या रहेकोसमेत सार्वजनिक गर्नुभयो । पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको भन्दै उहाँले नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । “काङ्ग्रेस अहिले धेरै पछि परेको छ, पार्टीको भित्री व्यवस्थापन र नेतृत्वमा समस्या छ”, उहाँले भन्नुभयो, “नेतृत्वमा सुधार गर्दै जाने, व्यवस्थापन गर्दै जाने कुरामा हामीले कोशिश गरिराखेका छौँ र काङ्ग्रेस नयाँ दिशामा अगाडि बढ्छ ।” 

उहाँले वाइड बडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गर्नुभयो । नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताउनुभयो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!