सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

Posted on: 18 Jan, 2019

माघ ४, काठमाण्डौ | नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ । 

विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुनुहुन्थ्यो । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताउनु भएको थियो । 

आजै सभापति देउवाले सिन्धुपाल्चोक काङ्ग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!