गृहमन्त्री थापाद्वारा प्रहरी उपरीक्षक पोखरेलप्रति श्रद्धाञ्जलि

Posted on: 28 Jan, 2019

माघ १४, काठमाण्डौ | गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन हुनुभएका प्रहरी उपरीक्षक पोखरलको निवास सानो भर्याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । गृहमन्त्री थापाले पोखरेलको निधनले कर्तव्यनिष्ठ, व्यावसायिक अधिकृत गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो । 

यसैबीच आजै गृहमन्त्री थापाले दुर्घटनामा घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ । उहाँ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुगेर उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । 

गृहमन्त्री थापाले उपचारको खर्च सरकारले व्यहोर्ने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन समेत दिनुभएको छ । 

प्रदर्शनका क्रममा भएको दमनको नेविसङ्घद्वारा विरोध 

नेपाल विद्यार्थी सङ्घले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेको छ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसङ्घले आइतबार भएको दमनको विरोधमा आज बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको हो । 

नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, अमृत साइन्स क्याम्पस, बाल्मिकी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले नेविसङ्घले विरोध जनाएको बताउनुभयो । 

“हत्या, हिंसा, बलात्कार, भ्रष्टचारलाई संरक्षण गरेर शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीलाई लाठी बर्साउने तथा जेल हाल्ने काम भएको छ,”, उहाँले भन्नुभयो । 

नेविसङ्घ महामन्त्री कुन्दनराज काफ्लेले काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिइएको बताउनुभयो । उहाँले स्वीकृत नदिएसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!