स्ववियु निर्वाचनको मिति चाँडै तोक्ने

Posted on: 02 Feb, 2019

माघ १९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । 

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उहाँले बताउनुभयो । 

‘‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौ’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकिएको छैन, चाँडै नै त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनको मिति तोक्ने छ ।’’ 

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक निर्वाचन प्रणाली अपनाइएको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा विद्यार्थी सङ्गठनका कारणले हुन सकेको छैन । 

त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद निर्देशालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले फागुन महीनाभित्र स्ववियु निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । यसअघि उहाँले नै पुस २२ गते सबै देशभरिका त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभएको थियो । 

विसं २०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्ष सकिन थालेकाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइएको कार्यकारी निर्देशक थापाले बताउनुभयो । उहाँले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यसवर्ष विद्यार्थी सङ्घ सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताउनुभयो । 

उहाँका अनुसार गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ । 

अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनको मिति तोक्नेबारेमा त्रिविसँग विद्यार्थी सङ्गठनको छलफल भइरहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!