वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ: परराष्ट्रमन्त्री

Posted on: 09 Feb, 2019

माघ २६, काठमाडौँ | वाग्मती सरसफाइ ३००आँै हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । 

शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताउनुभयो । 

उहाँले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिनुभयो । 

‘‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’’ उहाँले भन्नुभयो,‘‘जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’’ 

कार्यक्रममा वन तथा वातावरणमन्त्री बस्नेतले वाग्मती सरसफाइ अभियानले मुलुकभरी नै सरसफाइ गर्नुपर्दछ भनेर प्रेरणा दिएको बताउनुभयो । उहाँले वाग्मती सरसफाइ गर्नका लागि सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्नुभयो । 

शहरी विकासमन्त्री राईले चारसय हप्ता नपुग्दै वाग्मतीको सरसफाइ गरिसक्नुपर्ने बताउनुभयो । उहाँले सरकारको सहभागिताले मात्र नभइ समुदायको सहभागिताले मात्र सरसफाइ हुने भन्दै यसअभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । 

खानेपानी तथा सरसफाइमन्त्री मगरले अभियानले वाग्मती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताउनुभयो । ‘‘यस अभियानले राष्ट्र र जनतालाई सरसफाइ गर्न सिकाएको छ’’ उहाँले भन्नुभयो,‘‘यो वाग्मती सरसफाइ गर्ने अभियान मात्र नभएर राष्ट्र सरसफाइ गर्ने अभियान हो ।’’ 

उहाँले अब वाग्मतीमा मिसिइने ढल प्रशोधन गरेर मात्र मिसिने व्यवस्था गर्न थालिएको बताउनुभयो । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले यस अभियान वाग्मती नदीमा मात्र सीमित नरहेर अन्य नदीमासमेत सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई दिएकाले सबै स्थानीय तहमा नदी सरसफाइ शुरु हुने बताउनुभयो । 

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सम्पदा एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरे र वाग्मती सरसफाइ अभियन्ता डा राजु अधिकारीले सरकार र समुदायको सहभागिताले सफलता प्राप्त गरेको बताउनुभयो । 

‘स्वच्छता मेरो पहिचान ः सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वाग्मती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गर्नुभयो । विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । 

वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए । 

कार्यक्रममा सरसफाइ अभियानमा सहयोग पु¥याएको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रशंसापत्र प्रदान गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!