आजै जर्मनी उड्दै थिए मन्त्री अधिकारी, तर ...!

Posted on: 28 Feb, 2019

फागुन १६, काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुःखद् निधन छ । उक्त दुखद घटना नघटेको भए पर्यटनमन्त्री अधिकारीको आज जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो ।

अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । यसका लागि मन्त्रालयले टिकेटिङ र होटल बुकिङलगायत सबै तयारी पूरा गरिसकेको थियो ।

अधिकारी ताप्लेजुङबाट फर्किएर शनिबारदेखि जर्मनीमा हुने युएनडब्लुटीओमा सहभागी हुन बिहीबार ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट जर्मनी जाने कार्यक्रम भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा हेर्ने सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि मन्त्री अधिकारीसँगै जर्मनी जाने कार्यक्रम थियो ।

मन्त्री अधिकारीको निधनपछि जोशी र उपाध्यायले पनि भ्रमण रद्द गरेका छन् । अधिकारीले सम्मेलनमा नेपालमा पर्वतीय पर्यटनको अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम थियो ।

उपाध्यायका अनुसार २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न मन्त्री अधिकारीले यो भ्रमणलाई उपलब्धीमूलक हुने मानेर नै जाने तय गरेका थिए ।

मन्त्री अधिकारीको टोली फागुन २४ गते नेपाल फर्किने कार्यक्रम थियो । उनले बर्लिनमा हुने अर्को एउटा पर्यटन एक्स्पो आईटीबीमा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो, जसमा भाग लिन नेपाली पर्यटन व्यवसायीको टोली जर्मनी पुगिसकेको छ ।

जर्मनीबाट फर्कँदा अधिकारीले म्युनिख विमानस्थलको व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम पनि थियो । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख एयरपोर्टलाई दिने निर्णय गरिसकेको पर्यटन मन्त्रालय स्रोत बताउँछ ।

मन्त्री अधिकारीले त्यहाँ म्युनिख एयरपोर्टका अधिकारीहरुलाई भेट्ने र भैरहवा एयरपोर्टको व्यवस्थापनबारे पनि छलफल गर्ने योजना थियो । यही समयमा हुने छलफलका आधारमा भैरहवामा म्युनिख एयरपोर्टलाई भित्र्याउने सम्झौता गर्ने योजना भए पनि त्यो सपना हाललाई अधुरो भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!