प्रधानमन्त्री ओलीले भने - नेत्रविक्रम चन्दले पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राखे हुन्छ

Posted on: 08 Mar, 2019

फागुन २४, काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताउनु भएको छ । 

डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई तर्साएर, बम विस्फोट गराएर नागरिकको हत्या गरेर, चन्दा आंतक मच्चाएर कम्युनिष्टको नाममा राजनीति बन्द गर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।

विप्लव नेतृत्वको नेकपा कुनै राजनीतिक पार्टी नभएको बताउँदै  प्रधानमन्त्री ओलीले भने ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने । विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउत समूह आन्दोलन त्यागेर मूल धारको राजनीतिमा आउनु नेपालको राजनीतिमा विशेष अवसर भएको पनि बताउनुभयो ।  

राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सीके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।  

मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!