सरकार अपराधीको संरक्षणमा लागेको कांग्रेस सभापती देउवाको आरोप

Posted on: 10 Mar, 2019


बागलुङ , कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्‌झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए ।


चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोपसमेत उनले लगाए । ‘हामीले संवैधानिक समस्या नआओस् भनेरै प्रतिकूलतामा तीन तहको निर्वाचन गरायौं’, देउवाले भने, ‘सहज परिस्थिति आएपछि वर्तमान सरकार संविधानका धारा मिचिरहेको छ ।’ देउवाले प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउन सरकार सक्रिय भएको आरोप पनि लगाए ।


ओली सरकारको विरोधमा समय खर्चेका देउवाले हिंसा र दण्डहिनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए । ‘निर्मला हत्याकाण्डसहित धेरै घटनामा अपराधी लुकाउने काम भयो’ देउवाले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर हावादारी भाषण र उखान भन्दै हिँडेर देश समृद्धिमा जाँदैन ।’ देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!