विप्लवमाथि सरकारी प्रतिबन्ध लगत्तै भरतपुरमा बम विस्फोट, ६ जना पक्राउ

Posted on: 13 Mar, 2019

फागुन २९, चितवन । चितवनको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उक्त बिस्फोट राति १२:३० बजे गराइएको हो । 

विस्फोटका कारण वडा कार्यालयका झ्यालका सिसा फुटेका छन् । विस्फोटपछि आगो लागेको र आगलागीका कारण वडा कार्यालयका कागजपत्र समेत जलेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिइएको राठौरले जानकारी दिए । प्रहरीले सतर्कता अपनाएको बताइरहेका बेला विस्फोटको घटना भएको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको राठौरले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!