राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन: मन्त्री थापा

Posted on: 23 Mar, 2019

चैत ९, काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । 

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भन्नुभयो । 

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिनुभयो । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उहाँले जानकारी दिनुभयो । 

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो । 

हाल विकास केन्द्रमा जम्मा ३४ हजार सदस्य आवद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तुलसी थापाले जानकारी दिनुभयो । संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालीम प्रदान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!