विप्लव समूहलाई प्रतिनिधिसभाबाटै चुनौती - 'राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन'

Posted on: 24 Mar, 2019

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा  चुनौती दिएका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई इंगित गर्दै भने 'धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्दाको नाममा लुटपाट गरियो । यस्तो नगर्न धेरै पल्ट भनियो तर मानेनन् ।'

प्रधानमन्त्री ओलीले भने 'त्यस समुह जो कतै दर्ता छैन, त्यसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । विध्वम्श छोड भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन ।' ओलीले आफ्नो नेतृत्वको सरकार लोकतान्त्रिक नभएको भन्दै टिप्पणी गर्नेहरुलाई इंगित गर्दै प्रश्न गरे 'अनि के लोकतन्त्रमा बम पड्काउन पाइन्छ ? चन्दाका नाममा लुट्ने काम गर्न पाइन्छ ?  मान्छे मार्न पाइन्छ लोकतन्त्रमा ?' 

प्रधानमन्त्री ओलीले महाभारतको युद्धको स्मरण गराउंदै भगवान श्रीकृष्णको चक्रको किस्सा सुनाए । भगवान कृष्णले सम्झाउँदा भएन बहने चक्र प्रहार गर्थे भन्ने बिषयलाई स्पष्ट पार्दै प्रधान मन्त्री ओलीले भने - 'सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।' 

हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । ओलीले भने 'लोकतान्त्रिक आचरण अनुसार देश चल्नु पर्छ, त्यसमा सरकार एकदम दृढ छ ।' 

ओलीले अगाडी भने 'अब देशमा यस्तै प्रकारको अशान्तिको सृंखला जारी रहन्छ कि भन्ने कुरा त्यो कल्पना नगरे पनि हुन्छ र कसैले जारी राख्न सकिएला कि भन्ने कल्पना गरेको छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी बिकास निर्माणको लागि अगाडी बढ्यौं अब बिकासका काममा हामी बाधा पुर्याउन दिदैनौं ।'  

यस बिषयमा तपाइको प्रतिक्रिया...!