सभापति देउवाद्वारा दुःख व्यक्त

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधानसम्पादक  पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गर्नुभएको छ । 

कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहनुभएका श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिङ्गोे सञ्चार जगतमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । 

"नेपाल समाचारपत्रका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुखित बनाएको छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पुर्याउनु भएको थियो”, विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा प्रधानसम्पादक श्रेष्ठको निधनबाट सञ्चार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको तथा र यस क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाइएको छ । यसैबीच, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज नयाँ सडकस्थित भूगोलपार्क जानुभई प्रधानसम्पादक श्रेष्ठको पार्थीव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!